प्युठानमा ३९७६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने

 

 

 

चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्यूठानबाट झण्डै ४ हजार विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाबाट २ हजार १३९ छात्र र १ हजार ८३७ छात्रा गरी ३ हजार ९ सय ७६ जनाले यस वर्षको एसईई परीक्षा दिँन लागेको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिनुभयो । नियमित तर्फ ३ हजार ७ सय २८ जना, प्राविधिक धार तर्फ ८ विद्यालयका २०५ जना,संस्कृत धार तर्फ १२ जना र ग्रेडवृद्धि तर्फ ३१ जना गरी ३ हजार ९ सय ७६ जनाले परीक्षा दिँन लागेको उहाँले बताउनुभयो ।

जिल्लाका ७३ सामूदायिक विद्यालय र ७ संस्थागत विद्यालय गरी ८० ओटा विद्यालयबाट परीक्षार्थीहरु परीक्षामा सहभागि हुन लागेको बताउनुभयो । परीक्षा संञ्चालनको लागि जिल्लाभर १६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा गौमुखी,नौबहिनी माण्डवी,सरुमारानी, ऐरावती गाउँपालिकामा १/१ वटा, मल्लरानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा २/२, झिमरुक गाउँपालिकामा ३, र प्युठान नगरपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षामा केन्द्राध्यक्ष १३ जना,सहायक केन्द्राध्यक्ष २८, निरीक्षक २००, सहायक कर्मचारी ४०, सहयोगी कर्मचारी ८० र सुरक्षाकर्मी २४० जना गरी ६०४ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्दहरुमा खटिने गरी ब्यवस्था मिलाइएको जिल्ला शिक्षा प्रमुख खड्काले बताउनुभयो । ढुक्क भएर परीक्षामा सहभागी हुन बिद्यार्थी आग्रह समेत गर्नुभयो । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय तथा प्रत्येक स्थानिय तहमा रहेका प्रहरी कार्यालयहरुमा पठाइसकेको उहाँले जानकारी दिनुभयो । यो संगै बिहीबारबाट सुरु हुने (एसईई) को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई प्युठानले जनाएको छ ।

नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएकोले यस वर्षदेखि सबै बिषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याइकन कक्षा ११ मा भर्ना हुन पाइने छैन । प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनैपर्छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।