गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा

 

गुल्मीमा पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा आएका छन्। मैत्री यातायात प्रालिले सदरमुकाम तम्घासदेखि पाल्पा हुँदै बुटवलसम्मका लागि १० विद्युतीय गाडी सञ्चालन गरेको हो।

विद्युतीय गाडी बिहीबारदेखि यातायात प्रालिले औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। डिजेल तथा पेट्रोलबाट चल्ने गाडी मात्र हिँड्ने यो रुटमा अबदेखि विद्युतीय गाडी चल्ने भएका छन्।

नियमित बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म धुर्कोट, सिमलटारी, तम्घास, बलेटक्सार र पाल्पा हुँदै बुटवल गुड्ने मैत्री यातायातका एक सञ्चालक काशी पाण्डेले जानकारी दिए। उक्त यातयात प्रालिले प्यूठान जिल्लाको सिमाना पुर्कोटदेखि भारतको सुनौली बोर्डरसम्मको रुट पर्मिट पाएको छ। विद्युतीय गाडी १४ सिट क्षमताको रहेको छ। गाडीको तम्घासदेखि बुटवलकोे भाडा ५ सय ६५ रुपैयाँ कायम गरिएको छ। जुन भाडा अन्य सवारीको तुलनामा २० देखि २५ प्रतिशत सहुलियत रहेको पाण्डेले बताए। विद्युतीय गाडीका लागि जिल्लामै पहिलो पटक चार्जिङ स्टेसन निर्माण गरिएको छ।

यात्रुलाई गाडीमा फ्रि वाईफाईको व्यवस्था छ। यात्रुले गाडीमा विभिन्न सामाजिक सञ्जाल चलाउन सक्नेछन्। त्यस्तै यात्रुको सुरक्षालाई मध्यनगर गर्दै गाडीमा सीसी टीभीको पनि व्यवस्था गरिएको छ। गाडीको गाडी कहाँ पुग्यो भनेर हेर्नका लागि जीपीएससमेत जडान गरिएको मैत्री यातायात प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले जानकारी दिए। ‘हामीले जिल्लामा नयाँ व्यवस्थापनका साथ पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा ल्याएका छौं,’ गौतमले भने, ‘अब छिट्टै जिल्लाका प्रायः ठाउँबाट विद्युतीय गाडी सञ्चालन गरेर यात्रुलाई भाडामा सहुलियत र आरामदायी यात्रामा सहजता दिने लक्ष्यसहित अगाडि बढिरहेका छौं।’

विद्युतीय गाडीको झन्डै एक महिना परीक्षण गरेर सञ्चालनमा ल्याइएको हो। यातायात प्रालिले लिएको उद्देश्य र मर्मअनुसार गाडी सञ्चालन गरेर नागरिक मैत्री सेवा प्रवाह गर्नुपर्ने जिल्ला समन्वय समिति अध्यक्ष द्रोर्ण खत्रीले बताए। चालक र सहचालकलाई तालिम प्रदान गरेर सबैलाई यात्रुमैत्री व्यवहार गर्दै सहज र सरल तरिकाले यात्रा गर्नुपर्ने उनले बताए। वातावरण मैत्री यस सवारीले गुल्मी, पाल्पा, अर्घाखाँची र प्यूठानका नागरिकलाई सहज हुने अपेक्षा लिइएको छ।

अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।