व्यवसायी नतर्साउन गृहमन्त्री र अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

 

 प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीलाई नतर्साउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन्। अर्थमन्त्री पुनले प्रधानमन्त्री दाहालले आफू र गृहमन्त्रीलाई बोलाएर उक्त निर्देशन दिएको खुलासा गरे।

नेपाल उद्योग बाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरे।

मन्त्रिमण्डल पुनर्गठनपछि गृहमन्त्री लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई बिना कारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको उनको भनाइ छ। उनले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह गरे।

लोकतान्त्रिक मुलुकमा कोही पनि कानुनमाथि नहुने स्पष्ट गर्दै कुनै पेसा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा समग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गरे। राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा उनको जोड थियो।

अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।