२० वर्षमा ३४ गुणाले बढे जापानमा नेपाली, विद्यार्थी अत्यधिक

 

जापान सरकार अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरूको तथ्यांक प्रकाशित गरेको छ। उक्त तथ्यांक अनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ। सन् २००३ मा यो सङ्ख्या केवल ५ हजार १८१ मात्र थियो। यो तथ्यांकले विगत २० वर्षमा ३४ गुणाभन्दा बढी नेपाली जापानमा बसोबास गरेको देखाउँछ।

५५ हजार ६०४ विद्यार्थी लगायतका ५० हजार ३८२ परिवारका सदस्यहरू आश्रित बनेर जापान पुगेका छन्। त्यस्तै, इन्जिनियर, मानविकीका विशेषज्ञहरू, अन्तर्राष्ट्रिय सेवा क्षेत्रका ३२ हजार ८६२ नेपाली जापानमा बसोबास गरिरहेका छन् भने ७ हजार १४५ जना नेपालीले जापानमा स्थायी बसोबास अनुमति पाइसकेका छन्। त्यस्तै, कुक लगायत विशेष दक्ष जनशक्ति, निर्दिष्ट सीपका कामदार, प्रशिक्षार्थी कामदारहरू, जापानी नागरिकका परिवारको सदस्य बनेर नेपालीहरू जापान बसिरहेका छन्।

सबैभन्दा धेरै विद्यार्थी

जापानमा बसोबास गर्ने नेपालीमा अत्यधिक विद्यार्थी छन्। अहिले ५५ हजार ६०४ जना नेपाली विद्यार्थी जापानका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत छन्।

२० वर्ष अगाडि अर्थात् सन् २००३ मा जापानमा अध्ययनरत नेपाली विद्यार्थी केवल ४४६ मात्र थिए। जापानमा अध्ययनरत आप्रवासी विद्यार्थीमध्ये चीनपछि सर्वाधिक नेपाली रहेका छन्। अस्ट्रेलिया, बेलायत, क्यानडा लगायत देशहरूले आप्रवासी विद्यार्थी प्रतिकूल आप्रवासन नीति ल्याइरहेको पृष्ठभूमिमा जापानमा यो सङ्ख्या थप बढ्न सक्छ।

यसरी हेर्दा २० वर्षमा जापानमा पढ्ने नेपाली विद्यार्थी १२४ गुणाले बढेको देखिन्छ। जापानले सन् १९०१ बाट विदेशी विद्यार्थी भर्ना लिन सुरु गरेको थियो। नेपालबाट सन् १९०२ बाट नै तत्कालीन प्रधानमन्त्री देवशमशेर राणाले सरकारी खर्चमा ८ जना नेपालीलाई जापान पढ्न पठाएको इतिहास छ।

जापानमा विद्यार्थीले अनुमति लिएर हप्तामा २८ घण्टासम्म काम गर्दै भाषा तथा व्यावसायिक शिक्षा लिन सक्छन्। यो सुविधाले नेपाली विद्यार्थीका लागि जापान लोकप्रिय गन्तव्य बनेको छ।

जापानका विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्न उपयुक्त वातावरणका साथै अन्य अवसरहरू पनि उपलब्ध छन्। साथै, अध्ययनपछि जापानमा रोजगारीका विकल्प प्रशस्तै भेटिन्छन्।

जापानमा पढाइसकेका नेपाली विद्यार्थीहरू हाल विभिन्न जापानी कम्पनीहरूमा कार्यरत छन्। जापानी भाषा तथा व्यावसायिक शिक्षा लिएका, स्नातक गरेका नेपालीले पनि जापानका विभिन्न कम्पनीमा काम गरिरहेका छन्।

उच्च शिक्षा अध्ययन गरेका कतिपय विद्यार्थी विश्वविद्यालयमा अध्यापन र अनुसन्धानमा पनि संलग्न छन्। त्यसबाहेक पनि डाक्टर, इन्जिनियर, नीति तर्जुमाकार तथा विभिन्न जापानी तथा बहुराष्ट्रिय कम्पनीका उच्चपदमा नेपाली कार्यरत छन्।

जापानमा वार्षिक ३ करोडभन्दा बढी पर्यटकले भ्रमण गर्ने गर्दछन्। जापानी र अंग्रेजी भाषामा दक्खल राख्ने नेपालीले होटलको रिसेप्सन, कन्बिनियन्स स्टोर, ओनसेन योर्कान भनिने तातोपानी स्नान गृह, रिसोर्ट, यातायात लगायत विभिन्न पर्यटनसँग सम्बन्धित क्षेत्रहरूमा काम गरिरहेका छन्।

त्यसबाहेक जापानमा हाल ज्येष्ठ नागरिकहरूको संख्यामा वृद्धि भएकोले नर्सिङ तथा स्याहार केन्द्र लगायत सेवामूलक काममा पनि नेपालीहरू लागेको २३ वर्षदेखि जापानमा बसोबास गरिरहेका कानागावा प्रिफेक्चर गभर्नरका सल्लाहकार जिज्ञानकुमार थापा बताउँछन् ।

थापाका अनुसार नेपालीले जापानमा हँसिलो मुहार, आत्मीयता, भाषा वा संस्कृति छिटो सिक्ने आप्रवासीको पहिचान बनाएका छन् ।

जापानमा असाध्यै बढिरहेको नेपालीको सङ्ख्याले अध्ययन र रोजगारीको लागि धेरैभन्दा धेरै नेपालीले जापानलाई गन्तव्यको रूपमा रुचाएको संकेत गर्छ।

जिज्ञानकुमार थापा, कानागावा प्रिफेक्चर गभर्नरका सल्लाहकार

गत वर्षसम्म जापानमा अध्ययन गर्ने कुल विदेशीहरूमा चिनियाँ र भियतनामीपछि नेपाली थिए। तर गत वर्ष भियतनामीलाई पछि पार्दै नेपाली विद्यार्थी सङ्ख्या दोस्रो स्थानमा उक्लिएको छ।

नेपाली विद्यार्थीहरू उच्च शिक्षा र उज्वल भविष्यका लागि विदेश जाने चलन नयाँ होइन। आर्थिक हिसाबले मध्यम वर्गीय परिवारबाट पनि हप्तामा २८ घण्टा काम गर्दै भाषा तथा व्यावसायिक शिक्षा लिन सकिन्छ। यही अनुकूलतालाई नेपाली विद्यार्थीले अवसर बनाइरहेका छन्।

जापानी विश्वविद्यालयहरूले शैक्षिक अवसरहरूको साथसाथै उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्न वातावरण बनाइरहेका छन्। साथै विश्वविद्यालय बाहिर पनि विभिन्न किसिमका अवसर छन्। उच्च-गुणस्तर शिक्षाका साथै तत्काल रोजगारीको अवसरले जापान राम्रो शैक्षिक गन्तव्य बनेको हो।

जापानमा आरुबाइतो अर्थात् पार्ट टाइम जबले आर्थिक अवसर सिर्जना गरिरहेका छन्। यही अनुभवले अध्ययनपछि रोजगारीको सम्भावना पनि बढ्छ।

अध्ययन मात्र नभएर अहिले नेपालबाट धेरै युवा सीधै रोजगारीमा पनि जापान आइरहेका छन्। यसलाई सहज बनाउन दुई देशबीच भएको सम्झौताले कामदारहरूलाई जापान आउन सहज भएको छ। उनीहरू उत्पादन, सेवा, कृषि लगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।

गुणस्तरमा ध्यान दिनुपर्छ

जापानमा नेपालीको संख्या अत्यधिक बढिरहेको बेला हामीले क्षमता विकास र गुणस्तरमा जोड दिनुपर्छ। त्यसो त जापानमा प्रायः होटलको फ्रन्ट, कन्बिनियन्स स्टोर, ओनसेन योर्कान (तातोपानी स्नान गृह), ज्येष्ठ नागरिक स्याहार लगायतका सेवामूलक काममा लागेका नेपालीले हँसिलो, आत्मीय, भाषा वा संस्कृति छिटो सिक्ने गरेको जापानीहरू बताउँछन्। उनीहरू नेपालीको व्यवहारले खुसी भएको र अन्य शाखा, उपशाखामा नेपाली कर्मचारी थप्न चाहने अनुभूति सुनाउँछन्।

नेपालीले नयाँ परिवेशमा सफल हुनका लागि जापानी भाषामा निपुणता हासिल गर्नुपर्छ। जापानी तथा अन्य देशबाट आएका जनशक्तिसँग प्रभावकारी रूपमा सञ्चार गर्न सक्नुपर्छ।

रोजगारीका अवसरहरूमा पहुँच गर्न र जापानी समाजमा पूर्ण रूपमा सहभागी हुन भाषाले ठूलो भूमिका खेल्दछ। जापानी भाषा सिक्नेले जापानी रीतिस्थिति र परम्पराहरू बारे बुझ्न र महसुस गर्न सघाउँछ। सम्बन्धलाई गहिरो र बलियो बनाउँछ।

भाषाकै कारण जापानी समुदायलाई नेपाल बारे चिनाउने अवसर पनि मिल्छ। यसरी सांस्कृतिक आदानप्रदानले नेपाली समुदायलाई जापानमा थप आरामदायी जीवनयापन गर्न मात्र नभई दुवै समूहबीचको आपसी सम्मान र सद्भावलाई प्रवर्धन गर्न पनि मद्दत गर्नेछ।

नेपालीको जीवनस्तर सुधार्न र अरूबीच नकारात्मक प्रभाव नछाड्न ध्यान दिनुपर्छ। यदाकदा सञ्चारमाध्यममा आउने नकारात्मक घटनाहरूको न्यूनीकरणका लागि जापानमा क्रियाशील सबै संघ–संस्थाले भूमिका खेल्नुपर्छ।

जापानमा करिब ३५ लाख साना तथा मझौला कम्पनीहरू छन्। विकासको चरम अवस्था पार गरेर यहाँका कतिपय कम्पनीहरूले आफ्नो अस्तित्व सकिइसकेको महसुस गरिरहेको सञ्चारमाध्यममा सुन्न पाइन्छ। तर नेपाल भर्खर सुरुङ युगमा प्रवेश गरेको छ।

अध्ययनपछि जापानकै साना तथा मझौला कम्पनीमा कार्यरत नेपालीहरूले यहाँको कम्पनीलाई नेपालमा लगानी गर्न प्रेरित गर्न सक्छन्। उनीहरूले जापानमा सिकेको ज्ञान, सीप, प्रविधिको साथसाथै स्थापित गरेको नेटवर्कलाई नेपालको विकास प्रक्रियासँग कुनै न कुनै रूपमा जोड्न सक्छन्।

आसन्न लगानी सम्मेलनमा प्रवासी नेपालीले विदेशमा हासिल गरेको सीप, क्षमता र सम्बन्धलाई नेपाल भित्र्याउने खालको योजना बनाउन पनि भुल्नुहुँदैन। झन्डै सात दशक लामो नेपाल-जापान मैत्री सम्बन्धको जगमा दुई देशबीचको सहकार्य वृद्धि गर्न प्रवासी नेपालीले खेल्न सक्ने भूमिका असाध्यै महत्वपूर्ण हुनेछ। यसलाई सबै सरोकारवालाहरूले प्राथमिकतामा राखौं।

अनलाइन खबरबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।