अर्थपूर्ण जीवनको आयु !

 

जन्मिएपछि मान्छे मर्नै पर्छ। अर्थात् जन्म नै मृत्युको सुरुआत हो। जन्मदेखि मृत्युसम्मको अवधि हो, आयु। एउटा भनाइ छ, ‘जीवन कति लामो बाँच्छौं, त्यसले कुनै अर्थ राख्दैन। तर, कस्तो जीवन बाँच्छौं, त्यसले खास अर्थ राख्छ।’

मान्छे जन्मिएपछि बाँच्छ नै तर को कति अवधि बाँच्छ ? भ्रूणदेखि चिहान (चिता) सम्म मान्छेको आयुमा कोही लामो आयु लिएर आउँछन् त कोही छोटो। वास्तवमा आयुको महत्त्व मान्छे बाँच्नुको अवधिले मात्र राख्दैन, बाँच्नुको अर्थले आयुको महत्त्वलाई बढाउने र घटाउने गर्छ। कसैका लागि लामो लागेको आयु कसैका लागि छोटो लागिरहेको हुनसक्छ।

भनिन्छ, मर्ने कसैलाई रहर हुँदैन रे ! तर मान्छे कहिलेकाहीँ जीवनभन्दा मृत्युमा सुख देखिरहेका पनि हुन्छन्। मान्छेको औसत आयु भूगोलअनुसार फरकफरक हुन्छ। मान्छेको उमेर कति हो र कस्तो देखिन्छ भन्ने कुरा उसले लिने तनाव, जीवनशैली तथा उसलाई लाग्ने रोगले निर्धारण गर्छ। कोही युवा उमेरका पनि उमेर खस्किएका जस्ता देखिइरहेका हुन्छन्। कोही उमेर पुगेका वृद्धवृद्धा पनि आफूमा जवानी दर्शाइरहेका हुन्छन्। जीवन जिउनु एक कला हो। जीवन बाँच्न त सबै आफ्नो आयु बाँचिरहेका हुन्छन् तर कोही गुणस्तरीय जीवन त कोही बेकारको जीवन।

रजनीश ओशो भन्छ्न्, ‘जन्म त पाइन्छ तर जीवनलाई भने खोज्नुपर्छ। जीवनको खोजी गर्नु एउटा कला हो।’ यसको अर्थ जिउनुमा छ जीवन। जन्म एउटा संयोग पनि हो। सुन्दर प्राकृतिक उपहार र अवसर। मानिस न चाहेर जन्मन्छ, न नचाहेरै। रोजाइ र खोजाइभन्दा धेरै पर छ जन्म। जन्मपश्चात् सुरु भएको जीवन मृत्युमा पूर्णविराम लाग्छ। जीवन कसरी जिउने नितान्त व्यक्तिगत सोच र खोजको विषय हो। मरेपछि पनि बाँचिरहने या बाँचे पनि मरेतुल्य भइरहने भन्ने व्यक्तिमै भर पर्छ। मरेपछि पनि बाँचिरहनेहरूका लागि जति धेरै वर्षको आयु भए पनि छोटो लाग्न सक्छ। मरेतुल्य बाँचिरहनेहरूलाई पलपलको समय पनि उसलाई लामो लागिरहेको हुन्छ।

जीवन जिउने कलाहरूमा आफूलाई सत्य लागेको असत्य र असत्य लागेको सत्य पनि हुन सक्छ। आयु भनेको धैर्य र बोधको यात्रा अवधि पनि हो। मानिस सत्यजस्तै लाग्ने भ्रममा पनि बाँचिरहेको हुन्छ। भ्रमैभ्रममा सुख र दुःखका अनुभूति सँगालिरहेको हुन्छ। कहिले सुखी ठान्छ त कहिले दुःखी। कहिले रुन्छ त कहिले हाँस्छ। कहिले पाएको कथा लेख्छ त कहिले गुमाएको।

वास्तवमा मानिस एउटा भ्रमबाट अलग भएर अर्को भ्रममा पुगिरहेको हुन्छ। एउटा भ्रमदेखि अर्को भ्रमसम्मको यात्रा दूरी अवधि पनि हो आयु। मृत्युदेखि डराउनेहरू पनि छन् नडराउनेहरू पनि छन्। मृत्यु जबरजस्त तथा अनिवार्य र स्वेच्छिकमा अडेको हुन्छ। सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न मृत्यु। मान्छेको मृत्यु स्वाभाविक र अस्वाभाविक दुवै रूपमा हुन सक्छ। अर्थपूर्ण जीवनले मान्छेको आयुसँग प्रत्यक्ष तथा परोक्ष सम्बन्ध राख्छ। पूर्ण जीवन बाँच्नु भनेको जन्म र मृत्युलाई सही हिसाबले बुझ्न सक्नु हो।

अमेरिकन नागरिक पल कलानिथी, जो आफैं पेसाले सर्जन डाक्टर थिए। ४० वर्षको उमेरमा क्यान्सर रोगको सिकार भएर बिते। फोर्थ स्टेजको क्यान्सरसँग लडिरहेको बेला उनै पल कलानिथीले लेखेको ‘ह्वेन ब्रेथ्स बिकम्स एयर’ संस्मरण पुस्तक मरणोपरान्त १२ जनवरी २०१६ मा प्रकाशित भएको थियो। आफ्नो आत्मकथा पुस्तकमा लेखेका छन्, ‘जीवन र मृत्युका प्रश्नहरू भनेका मानवीय नैतिक प्रश्नहरू पनि हुन्।’ मृत्युलाई सजिलै लिन सकिने कुरा पनि होइन। हरेक दिन मृत्यु देखिरहेको एउटा सर्जन आफैंले मृत्यु भोग्नु पर्‍यो भने कति आत्तिन्छ होला ?

वास्तविक दुःखाइ के हुँदोरहेछ भन्ने सम्बन्धमा आफ्नो पुस्तकमा लेख्छन्। ‘क्यान्सरका बिरामीलाई दुःख बुझाएँ तर जतिबेला क्यान्सरले दुख्न थालें, त्यतिबेला थाहा भयो– दुःखाई त कहाँ मैले बुझाए जतिमात्र रहेछ र ? डाक्टर भएर बिरामीको उपचार गर्नु र आफैं बिरामी भएर डाक्टर भए ठाउँ जानु दुई फरक अनुभव रहेछन्। बिरामीको दुखाइको त डाक्टरलाई थाहा हुँदो रहेनछ।’

धर्तीमा जन्म लिएपछि मान्छेलाई आफ्नो भौतिक आयु अवधिभर जीवन बाँच्नु नै छ। कोही बाध्यता र विवशतामा बाँचिरहेका छन्। कोही निराशाको बादलभित्र पीडाको तलाउमा डुबुल्की मार्दै त कोही हाँसोपान गर्दै। कोही जिन्दगीको रथलाई सुखानुभूति यात्रामा लम्काइरहेछन् त कोही अस्तव्यस्तको भीडमा हराउँदै जीवनलाई घिसारिरहेका छन्। कोही मरेर पनि अमर छन् त कोही पलपल मरेर बाँचिरहेका छन्।

मानिस जतिसुकै स्वार्थी र भौतिकवादी भए पनि मृत्युको समयमा उसलाई एउटा प्रश्नले भने पिरोलिरहेको हुन्छ। आफ्नो जीवनको आयु अवधिमा के कमाएँ, अनि के गुमाएँ ? कति पराइलाई आफ्ना बनाएँ र कति आफ्नालाई पराइ बनाएँ ? कति आफ्ना लागि बाँचे कति अरूका लागि। जन्मदेखि मृत्युसम्मको अवधिमा गरेका आफ्ना कार्यहरूले मृत्युपर्यन्त पनि मान्छेलाई जीवित राखिरहन्छ।

अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।