लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै

 

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।

विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको बौद्ध अध्ययन सङ्कायका डीन डा.माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

अहिले विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोग जस्ता विभिन्न प्रकारका समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेषगरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको डीन शाक्यले बताउनुभयो ।

बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल र फ्रान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

गोष्ठीमा बौद्ध शिक्षाको महत्त्व, लुम्बिनीसहितका बौद्ध स्थलहरुको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस हुनेछ । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा प्यानल छलफल समेत आयोजना गरिएको छ ।

गोष्ठीमा समकालीन विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न बौद्ध शिक्षाका कुन रूपहरू आवश्यक छन्, यस्तो शिक्षा फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले कसरी योगदान गर्नसक्छ र संसारभरका मानिसहरूले कस्ता प्रकारका पाठ्यक्रमहरू अपेक्षा गर्छन् भन्ने विषयमा छलफल हुनेछ ।

गोष्ठीले वर्तमान विश्वव्यापी परिप्रेक्षमा महत्त्वपूर्ण लागू हुने आवश्यक बौद्ध शिक्षा पाठ्यक्रमहरूको पहिचान र छलफल गर्ने उद्देश्य राखेको छ । गोष्ठीले बौद्ध शिक्षाको महत्वमा केन्द्रित भएर लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमहरूको बारेमा जानकारी दिन र मानवले सामना गरिरहेका जटिल समस्याहरूलाई सम्बोधन गर्न योगदान पुयाउने विश्वास गरिएको छ ।

गोरखापत्र अनलाइनबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।