हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठन प्रभावित

 

मंगलबार राति असिनापानीसँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवनको छानो उडाएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ स्थित जनकल्याण मावी सेर्माकोटको तीन कोठे भवनको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीका अनुसार तीन कोठे भवनको जस्ता पाताले छाएको छानो उडाएको हो । भवनको छानो हावाहुरीले उडाउँदा पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक शाहीको भनाइ छ ।

‘हावाहुरीका कारण क्षतिग्रस्त भवनमा कक्षा ४ र ५ को पठनपाठन हुँदै आएको थियो, एउटा कोठामा दिवा खाजा कार्यक्रम अन्र्तगत प्रयोगमा ल्याइएको थियो,’प्रधानाध्यापक शाहीले भने, ‘हावाहुरीले छानो उडाउँदा पठनपाठन र दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।’

विद्यार्थीलाई बस्नको लागि कोठाको अभाव हुन पुगेको प्रधानाध्यापक शाहीले बताए । जस्तापाताले छाएको छाना हावाहुरीले उडाउँदा कोठाभित्र राखिएका बेन्च,डेक्सलगायत अन्य शैक्षिक सामग्रीहरूमा क्षति पुगेको छ ।  विस २०१८ मा स्थापना भएको उक्त विद्यालयका सबैजसो भवनहरू जस्तापाताको छानो भएका पुराना मात्रै छन् ।

‘विद्यालयमा रहेका अन्य सातवटा भवनहरू २५ देखि ३० वर्ष पुराना छन्,ती भवन जस्तापाताले छाएका छन्,पुराना र जस्तापाताले छाएको भवनमा पठनपाठन नै प्रभावित हुने गरेको छ,’प्रधानाध्यापक शाहीले भने ।  ‘जस्तापाताको छानोमा पानी पर्दा गड्याङगुडुङ आवाजले पढाइ प्रभावित हुन्छ, हावाहुरी चल्दा छानो नै उडाउने हो की भन्ने डरले पिरोल्छ,’प्रधानाध्यापक शाहीले भने, ‘विद्यालयका पुराना र जस्तापाताले छाएका भवनहरु बालबालिकाहरूका लागि निकै असुरक्षित छ ।’

उक्त विद्यालयमा ६ कोठे र ४ कोठे गरि दुई वटा मात्रै पक्की भवन छन् । ६ कोठे भवनको तीन वटा कोठा कार्यालय सञ्चालनका लागि प्रयोगमा छ । चार कोठे पक्की भवन पनि जीर्ण बन्दै गइरहेको छ । विद्यालयका वर्षौ पुराना र जस्तापाताले छाएका भवनहरू विस्थापित गरि पक्की भवन निर्माणमा कुनै पनि निकायले चासो भने दिएका छैनन् ।

उक्त विद्यालयमा हाल बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । हाल झण्डै ६ सय विद्यार्थीहरू विद्यालयमा अध्ययनरत छन् । भौतिक पूर्वाधारमा कमजोर रहेपनि यो विद्यालय शैक्षिक गुणस्तरका हिसावले भने जिल्लाकै उत्कृष्ठ मध्येको एक मानिन्छ ।

अन्नपूर्ण पोष्टबाट साभार

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।