उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

 

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।

उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भएको छ। उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताउनुभयो।

‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यता हुन्’ उहाँले भन्नुभयो, ‘उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन्। आपसी हितका लागि यी क्षेत्रमा थप सहकार्य गर्नु आजको आवश्यकता हो।’

उपराष्ट्रपति यादवले विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। ‘नर्वे सरकारले विशेष गरी नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका काम नेपालका लागि उपयोगी छन्’ उहाँले भन्नुभयो, ‘दिगो शान्ति, स्थायित्व, आर्थिक विकासका लागि हाम्रो अभियान जारी छ। नेपालको विकासको पथमा मित्र राष्ट्र नर्वेको निरन्तर साथ र सहयोग रहनेछ भन्नेमा हामी आशावादी छौँ।’

उहाँले आपसी हितका विषयहरूमा दुईपक्षीय र बहुपक्षीय मञ्चमा सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गर्नुभयो। ‘आगामी दिनमा नेपाल–नर्वे द्विपक्षीय सम्बन्धका नयाँ आयाम थपिँदै जाने र हाम्रो सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा हामीले गरेका छौँ’, उहाँले भन्नुभयो।

नेपालका लागि नर्वेका महामहिम राजदूत तोरुन ड्रामडलले नेपाल र नर्वेबिच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताउनुभयो। उहाँले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले नर्वेको निजी लगानीकर्तालाई नेपाल भित्र्याउने आफू  प्रयासरत रहेकोसमेत बताउनुभयो।

गोरखापत्र अनलाइनबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।