सञ्चारिका समूह प्युठानको अध्यक्षमा भुसाल चयन
स्मृति घर्ती मगर प्युठान, सञ्चारिका समूह प्युठान शाखाको प्रथम भेला आज जुम्रीमा सम्पन्न भएको छ। भेलाले राधिका भुसालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितीले पछि पदपूर्ति गर्नेगरी हाललाई उपाध्यक्ष पद रिक्त राखेको छ भने जसको सचीवमा सीता बि. क र कोषाध्यक्षमा स्मृति घर्ती मगर चयन भएका हुन।
पदाधिकारी सदस्यहरुमा शिर्जना सेन, भिमकला कुँवर (प्रतिभा), सुशीला बुढा मगर, बबिता रिजाल र गोमा बस्नेत रहेका छन। त्यस्तै सल्लाहकार समितीमा दिपा घर्ती र शिवा रेग्मी चयन भएका छन।
महिला पत्रकारहरुलाई संगठित गर्ने उद्देश्य सहित सम्पन्न गरिएको भेलामा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको थियो।
भेलामा सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल र कोषाध्यक्ष उषा किरण पन्थको आतिथ्यता रहेको थियो।
भेलालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष अमृता अनमोलले पत्रकारितामा महिला पत्रकारको उपस्तिथि घट्नु दु:खद भएको बताउनु भयो। राजनीति, शिक्षा, ब्यापार-ब्यबसाय, कर्मचारी लगायत क्षेत्रमा महिला सहभागिता उल्लेखनीय तवरले बढेपनी पत्रकारिता क्षेत्रमा महिला सहभागिता घट्दै जानू कुनैपनी हिसाबले राम्रो नभएको बताउनु भयो। महिला पत्रकारलाई पत्रकारिता गर्न निकै चुनौतीपुर्ण अबस्था रहेको बेला पत्रकार महासंघले सदस्यता शुद्धिकरणको नाममा धेरै महिला सदस्यको नाम काटेर पत्रकारितामा महिला सहभागितालाई थप कमजोर बनाएकोप्रती गुनासो समेत पोख्नु भयो। उहाँले थप्दै भन्नुभयो-” जब हामी आफै क्रियाशील भएर हाम्रो अस्तित्व जोगाउनतिर लाग्दैनौँ तब सम्म हामीले हाम्रो हक पाउदैनौँ। त्यस्को लागि अब सबै महिला पत्रकार एक भएर कलम चलाउन आवस्यक छ।” सामान्य समाचार लेखेर मात्रै जिविकोपार्जन गर्न नसकिने भन्दै पत्रकारितासङ्गै कार्यक्रम र सूचना संकलनमा पनि प्रतिस्पर्धा गरेर अघि बढ्नु पर्ने उहाँले बताउनु भयो।
त्यस्तै नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश सस्थापक महिला उपाध्यक्ष दिपा घर्तिले यो समितिले जिल्लाका सबै महिला पत्रकारलाई समेट्दै सशक्त रुपमा अगाडी बढ्न प्रेरित गरोस भन्दै नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो।