दाहालले प्रधानमन्त्री ओलीको अपमान गरेको भन्दै एमाले सांसदको प्रतिवाद, भने, ‘अहिल्यै मैदानमा उत्रिएर आलोचना गर्ने बेला भएको छैन’

संघर्ष मिडिया डेस्क

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेको भन्दै एमाले सांसद रघुजी पन्तले आपत्ति जाएका छन्।

विद्युत बक्यौता रकम तिर्ने विषयमा प्रधानमन्त्रीले संसदमा बोलेको कुरालाई गलत व्याख्या गरेको भन्दै सांसद पन्तले कडा प्रतिवाद गरेका हुन्। ‘विद्युत बक्यौता रकमका विषयमा गलत व्याख्या गरेर तपाइँले व्यक्तिगत रूपमा प्रधानमन्त्रीलाई अपमानित गर्नुभएन। सांसदको रेकर्ड झिकाएर सुने हुन्छ। प्रधानमन्त्रीजीले तपाइँले भनेजस्तो बोल्नुभएको छैन। तपाइँले अहिल्यै मैदानमा उत्रिएर आलोचना गर्ने बेला पनि भएको छैन,’ उनले भने।

उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलको हुने भए पनि यसअघिका नजिरका कारण आफूहरूले त्यो पद नछोडेको बताए। ‘लेखा समितिको सभापति प्रतिपक्षकै हो। तर, विगतमा कुन-कुन दलले सत्तामा आएर त्यो पद छोड्नुभयो? तपाइँहरूले छोड्नुभएको भए अहिले हामीले पनि छोड्नुपर्थ्यो। यस्ता धेरै नजिरहरू छन्,’ उनले भने।

‘सत्ता चाहिँदैन’ भन्ने दाहालको अभिव्यक्तिलाई पनि उनले व्यंग्य गरेका थिए। ‘तपाइँसँग सत्ता माग्ने नैतिक आधार पनि छैन। अधिकार पनि छैन। जनाधार पनि छैन। के मुखले माग्नुहुन्छ? के आधारले माग्नुहुन्छ? कहिले यता कहिले उता गरेर तीनचोटि त समीकरण फेर्नुभयो। तपाइँलाई विश्वास गरेका ठूला दललाई धोका दिनुभयो। थाङ्नामा सुताउनुभयो। अब को सुत्न तयार हुन्छ?,’ उनले प्रश्न गरे।

जता सत्ता त्यतै प्रचण्ड भनेर स्थापित आफैंले गरेको भन्दै सांसद पन्तले दाहालको आलोचना गरे। ‘प्रचण्डको सक्कली रूप देखियो। अब त्यो मौका तपाइँले पाउनु हुनेछैन। भीरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न।’

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।