लुम्बिनीको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन

संघर्ष मिडिया डेस्क

लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन भएको छ। प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो।

उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ गठन गरिएको जानकारी दिए।

यातायात क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले यसको समस्या समाधानका लागि कार्यदल गठन गरेको हो। ‘यातायात क्षेत्रका विषयमा आम नागरिकबाट केही गुनासा आएका छन्, यसको व्यवस्थापनका लागि माग भएको छ,’ मन्त्री न्यौपानेले भने, ‘यातायात क्षेत्रमा भएका समस्या समाधान गरी यसको उचित व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको हो। यो कार्यदलले कसरी यातायात क्षेत्रलाई आम नागरिकका लागि सहज बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने छ।’

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत, सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमतिपत्र) का प्रमुख, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी)का प्रमुख,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल इञ्जिनियर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य छन्।

कार्यदलले प्रदेश यातायातसम्बन्धी प्रवाह हुँदै आइरहेको सेवा प्रवाहमा देखिएका नीतिगत जटिलताका बारेमा अध्ययन गर्ने छ। यातायात सेवा प्रवाहमा देखिएका कानुनी जटिलता सम्बोधनका लागि अध्ययन गरिने र सोही अध्ययनअनुसार आवश्यक पहलकदमी लिइने मन्त्री न्यौपानेले जानकारी दिए। यसैगरी सेवाग्राहीहरूको जनगुनासोलाई यो कार्यदलले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ। यातायातसम्बन्धी सेवा पाउन आम नागरिकले सास्ती बेहोर्नु परिरहेको गुनासो आइरहेको छ।

‘सेवाग्राहीहरूले सेवा पाउँदाखेरी के कस्ता समस्या वा झन्झट बेहोर्नु परिरहेको छ भनेर सेवाग्राहीको समस्या पहिचानका लागि गुनासा सुनिने छ,’ मन्त्री न्यौपानेले भने, ‘सेवाग्राहीहरूका गुनासा र सुझावका आधारमा कसरी यातायात क्षेत्रलाई नागरिक मैत्री बनाउने भन्ने योजना कार्यदलको अध्ययन अनुसार बनाइने छ र यसलाई व्यवहारिक रूपमा लागू गरिने छ।’

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।