राजु मास्टर, बल्छी धुर्बेसहित ८ जना प्रहरी थुनामा

राजु मास्टर, बल्छी धुर्बेसहित ८ जनालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति।

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार गरेको आरोपमा कलाकार राजु पौडेल ‘राजु मास्टर’, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत उनीहरुमाथि मुद्दा चलाएको हो । पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित राजु पौडेल, त्यस्तै ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडा, प्रयांक भिडियो बनाउने एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बुढो भनिने सरोज घिमिरे र बेगम नेपाली छन् । उनीहरुले आफ्नो युट्युब च्यानलमा वान एक्स वेटको विज्ञापन गराएर लाखौं लिएको खुलेको छ ।

पक्राउ परेका आठै जनालाई प्रहरीले बिहीबार पक्राउ गरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । जिल्ला अदालतले उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको अनुमति दिएको छ ।

प्रहरीले पक्राउ परेकाहरुले युट्युबबाट बेटिङ एप वान एक्स बेटको प्रचार गरेको जनाएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेकाले उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (प्रमुख) मनोजकुमार केसीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित उनको भनाइ छ ।

‘आज हामीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौं । वान एक्स बेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्स बेटलाई प्रमोसन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्नेलाई पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौं,’ केसीले भने, ‘पक्राउ परेका व्यक्तिले वान एक्स बेटलाई प्रमोसन गर्ने र प्रमोसन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलिसिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइबर युट्युबरहरु छन् । हाम्रोमा यो गैरकानुनी हो ।’
प्रहरीले हिजो (बुधबार) मात्रै क्रिप्टो करेन्सी र वान एक्स वेटमा ७४ करोडको जुवा खेलाएको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । अवैध जुवा र कारोबारमा कलाकारहरु पनि जोडिएपछि पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कान्तिपुर बाट साभार गरीएकाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।