युद्वकाे कारण बृद्वि भएकाे महंगि।

युद्धको असर युद्ध गर्ने देशमा मात्रै पर्दैन !
आज कच्चा तेलको मूल्य ११२ डलरसम्म पुग्यो । सजिलो भाषामा भन्ने हो भने विगत दुई वर्षमा तेलको मूल्य दोब्बरभन्दा बढ़ी वृद्धि भयो ।
हामी यतिबेला विगत चालीस वर्ष यताकै सबैभन्दा ठूलो महँगीसँग जुधिरहेका छौं । तेल महँगिएसँगै यातायात, ढुवानी, उत्पादन लागत सबै महँगिने भए ।
रसिया र युक्रेन विश्वकै ठूला गहुँ निर्यातक देश हुन् । विश्वको २५% भन्दा बढ़ी गहुँ निर्यात गर्ने यी दुई देशको द्वन्द्वले गहुँको अन्तर्राष्ट्रिय मूल्य एकै वर्षमा झन्डै पचास प्रतिशतले बढ्यो । अरब देशले चर्को मूल्यमा भए पनि खाद्यान्न थुपार्न थाली सकेको खबर पढ्न पाइन्छ । यसले एकाएक विश्वमा भोकमरी निम्तिन सक्ने खतरा बढ्यो । खाने तेलदेखि गेडागुडीसम्म मूल्यवृद्धि यस्तै उच्च छ । दुबै देश सुनदेखि फलामसम्मका धातु र औद्योगिक कच्चा पदार्थका ठूला उत्पादक हुन् । यसमा बढ्ने मूल्यले निर्माण क्षेत्र मात्र होइन, हामीले बेडरूमदेखि भान्छासम्म प्रयोग गर्ने सामानसम्म सबै महँगो त हुन्छ नै, मेडिकल सेवा र कृषिको लागत पनि बढ्न पुग्छ । अनियन्त्रित मुद्रास्फीतिले जीवनका हरेक क्षेत्रलाई कठीन बनाउँछ ।

महँगीको असर त विश्वभर सबैलाई पर्छ नै । धेरै देशमा यसविरुद्ध आन्दोलन समेत भएका छ्न् । तर नेपाल जस्तो पूर्णतः आयातमा निर्भर देशमा यसको असर सबैभन्दा बढ़ी पर्छ । सय रुपियाँको पेट्रोल दुई सय रुपियाँ हुनु भनेको सामान्य अवस्था होइन । त्यसले पार्ने असर हरेक क्षेत्रले बेहोर्छ । उत्ति नै तेल आयात गर्न दोब्बर वैदेशिक मुद्रा खर्च हुन्छ । उत्ति नै औषधि खरिद गर्न डेढ़ गुना पैसा खर्च गर्नुपर्छ । देशको ढुकुटी खुम्चिँदै जान्छ र क्रयशक्ति कमजोर हुँदै जान्छ । यसअघि नै हामी खाने तेलदेखि मेसिनरी सामानसम्म विश्वको सबैभन्दा चर्को मूल्य तिर्न बाध्य थियौं । अब के होला ? हामी तेलको मूल्यवृद्धिको विरोधमा आफ्नै सड़क र किनेर ल्याइएका गाड़ी जलाउँला । थप गरिब बनौंला । अरू त के होला र ?

युद्धका लागि खर्च हुने अरबौं डलर प्रविधि, स्वास्थ्य, कृषि र अनुसन्धानमा खर्च हुँदा त्यसको फाइदा सिङ्गो विश्वलाई हुन्थ्यो । हामीले सिटामल आविष्कार गरेका होइनौं तर फाइदा लिइराखेका छौं । अरूले गरेको अनुसन्धान र विकास गरेको प्रविधिले हाम्रो अस्पतालमा अपरेशनलाई सस्तो बनाएको हुन्छ । अरूको अनुसन्धानले हामीले चलाउने इन्टरनेट र कल गर्दा लाग्ने शुल्क घटाएको हुन्छ । खुट्टाको जुत्तादेखि हातको मोबाइलसम्म र मोटरसाइकलदेखि मुटुमा राख्ने पेसमेकरसम्म हामीले दुःख नगरी निर्माण भएका हुन् । विश्वको ध्यान र खर्च युद्धतिर सोझिँदा हामीले नसोचेका सयौं क्षेत्रमा प्रत्यक्ष असर भोगिरहेका हुन्छौं ।

निर्दोष नागरिक र बालबालिकाहरू युद्धको नाममा बमको आगोमा जलेर खरानी हुँदै गर्दा, एउटा कमजोर देशलाई बलियो देशले खरानी बनाउँदै गर्दा र त्यसका नागरिकले आँसु बगाउँदै सहयोगको याचना गर्दा हामीलाई ‘ठिक्क पर्यो’ जस्तो भावना आउँछ भने हामी मान्छेभन्दा माथिको सुपर मान्छे हौं !
Narayan Gaunle

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।