प्रदूषण र धुलोले ढाक्यो काठमाडौं।

प्रदूषण र धुलोले ढाक्यो काठमाडौंको आकाशअस्वस्थकर’ प्रदूषण तत्काल कम नहुने, अवस्था अझै गम्भीर हुने चिन्ता।काठमाडौं उपत्यकाको आकाश धुलो र प्रदूषणले ढाकिँदा मौसम खुल्न सकेको छैन । प्रदूषणले गर्दा बुधबार दिनभर काठमाडौं धुम्म रह्यो । दुई दिनदेखि बढेको वायू प्रदूषण घटेको छैन । बुधबार साँझ (यो समाचार तयार पार्दा) विश्वका अत्यधिक प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो नम्बरमा थियो । यो क्रम घटबढ भइरहेको छ । घटबढ भएपनि तीन दिनदेखि काठमाडौं प्रदूषित शहरको सूचीमा पाँच नम्बर भित्रै रहेको छ । काठमाडौंको वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) १५५ रहेको थियो । यसअघि सोमबार र मंगलबार विश्वका अत्यधिक प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआईलाई राम्रो मानिन्छ । १५१ देखि दुई सयसम्मलाई अस्वस्थकर र २०१ देखि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । उपत्यकाको हावामा पिएम २.५ को मात्रा डब्लुएचओले तोकेको मापदण्डभन्दा १३ गुणा बढी पुगेको छ ।
प्रदूषणको अवस्थामा सुधार आउनेभन्दा झन् झन् बिग्रिँदै गएको अवस्था छ । तत्काल काठमाडौंसहित देशभरका मुख्य सहरी क्षेत्रमा वायु प्रदूषण कम हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तत्काल वर्षा हुने मौसमी प्रणाली नरहेकाले वायुमण्डल पखालिने सम्भावना नरहेको उनीहरूको भनाइ छ ।
यस्तै, लामो समयदेखि धूलोका कण उडाएर लैजाने गरी हावाहुरी पनि नचलेकाले प्रदूषण तत्काल हट्ने सम्भावना छैन । धुम्मिएको अवस्थामा रहेको काठमाडौंको प्रदूषण केही समयका लागि कम गर्न हल्कादेखि मध्यम तहको लगातार वर्षा हुनुपर्ने वा वायुमण्डल बढार्ने गरी हावा चल्नुपर्ने मौसमविद्को भनाइ छ ।
अवस्था अझै भयानक हुनसक्छ : वायु प्रदूषण विज्ञ दासका अनुसार याे अबस्थामा
वायु प्रदूषणको अवस्था अझै भयानक हुनसक्ने वातावरणविद् बताउँछन् । वायु प्रदूषण तथा ऊर्जा विज्ञ भूपेन्द्र दासले प्रदूषणको अवस्था अप्रिलसम्म झन् उच्च बिन्दुमा पुग्ने;बताउनुभयो । वायु प्रदूषणको अवस्थामा तत्काल कुनै सुधारको सम्भावना रहेको उहाँको भनाइ छ । ‘पाँच दिनजति भइसक्यो । तलमाथि भइरहेको छ । विश्वकै प्रदूषितशहरुको एक नम्बरमा पुगेको छ । कहिले दुई/तीनमा पनि झर्छ । तर, अवस्था सुधार भएको होइन,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘अवस्था अझै भयानक हुनसक्छ वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) अझै बढ्न सक्छ । खतरनाक अवस्थातिर जानसक्छ । अप्रिललाई मैले पिक टाइम भनेको छु ।
उहाँले पानी परेपछि मात्रै उच्च वायु प्रदूषण केही कम हुने बताउनुभयो । ‘अहिले भिजिबिलिटी ६० देखि ७० प्रतिशत मात्रै छ । हवाई उडान भइरहेका छन् । तर, देख्न गाह्रोछ उहाँले भन्नुभयो, ‘यसमा सुधार हुन कि पानी पर्नुपर्छ वा हावा चल्नुपर्छ । अथवा हेलिकोप्टरबाट पानी खसालेर पनि हुनसक्छ । तर, त्यो सम्भावना कम छ ।’ कृषि अवशेष जलाउने, आगलागी बढ्नेलगायत कारणले यतिबेला प्रदूषण बढेको उहाँको भनाइ छ । सवारी साधनको चाप, कतिपय ठाउँमा फोहोर जलाउने कारणले पनि प्रदूषण बढेको उहाँले बताउनुभयो । ‘यो समयमा खेतबालीमा कृषि अवशेष जलाउने गरिन्छ । आगलागी पनि यो बेला बढी हुन्छ । सवारी साधनको धुवा र कतिपय ठाउँमा फोहोर जलाउँदा पनि प्रदूषण बढ्छ,’ उहाँले भन्नुभयो, ‘वायुको कुनै सीमा हुँदैन । यो समयमा भारतमा बढी कृषि अवशेष जलाइन्छ । त्यसको प्रभाव पनि यता पर्छ ।
कामबिना घरबाहिर ननिस्कौँ : वातावरण स्वास्थ्यविद् डा. जोशी
वायुमण्डल नै यसरी प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । प्रदूषणले अल्प र दीर्घकालीन गरेर असर हुने विज्ञको भनाइ छ ।वातावरण स्वास्थ्यविद् डा. यादवप्रसाद जोशी वायु प्रदूषणले विशेषगरी मुटुसम्बन्धी रोगहरू लाग्नसक्ने बताउनुहुन्छ । लामो समयसम्म प्रदूषित क्षेत्रमा बस्दा स्वास्थ्यमा गम्भीर असरहरू देखिन सक्ने उहाँको भनाइ छ । प्रदूषित वायू वायु स्वास-प्रस्वासमार्फत मुटुसम्म पुग्ने भएकोले मुटुसम्बन्धी रोग ल्याउँछ । रगतसम्बन्धी रोगहरू पनि लाग्न सक्छ,’ उहाँले भन्नुभयो, ‘लामो समयसम्म प्रदूषित ठाउँमा बस्दा छालासम्बन्धी रोगहरू लाग्न सक्छ र क्यान्सरसम्म हुनसक्छ । किड्नी ड्यामेज हुनसक्छ ।श्वासनलीमा संक्रमण हुन्छ ।
प्रदूषणले सबैलाई असर गर्ने भए पनि बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र दीर्घ रोगीहरूमा बढी असर देखिन सक्ने उहाँको भनाइ छ । ‘प्रदूषणले सबैलाई असर गर्छ । तर,लामो समयसम्म प्रदूषित क्षेत्रमा बस्दा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र बुढापाकाहरू बढी जोखिममा हुन्छन् । फुटपाथमा काम गर्नेहरू पनि उत्तिकै जोखिममा हुन्छन् । बच्चाको मस्तिष्कमा समस्या हुन्छ । दम हुन्छ ।’ त्यस्तै, प्रदूषणले मानसिक समस्यासमेत देखिने उहाँको भनाइ छ ।
प्रदूषणबाट बच्न सबैभन्दा पहिले आम मानिसमा यसबारे सचेतना हुनुपर्ने उहाँले बताउनुभयो । प्रदूषणको कारण र असरबारे जानकारी भएपछि न्यूनीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । प्रदूषण उच्च भएका बेला अनावश्यक रूपमा घरबाहिर निस्किन नहुने उहाँको सुझाव छ । ‘सबैभन्दा ठूलो कुरा सचेतना हुनपर्छ । प्रदूषण भएका ठाउँमा जान भएन । नागरिकले पनि सचेत हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘प्रदूषण घटनाउनेतिर ध्यान दिनुप्रयाे सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्नुपर्‍यो । विना काम बाहिर निस्किन भएन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।