पानीसहितको हावाहुरीले मकैबाली नष्ट, कृषक चिन्तित

स्मृती घर्ती मगर प्युठान, शनिबार दिउसो आएको पानीसहितको हावाहुरीले किसानको बारिमा भएका मकैबालीमा पुर्ण क्षती पुर्याएको छ। स्वर्गद्वारी नगरपालिका वार्ड नं – ९ लापे टोलमा हिजो आएको हावाहुरीका कारण भर्खरै घुँगा लगाउन थालेका मकैका बोट भाँचिदा कृषक मर्कामा परेका छन।

दु:ख गरि गोडमेल गर्दै हुर्काएको मकैबाली हुर्कियो भन्नेबेलामा यसरी हावाहुरीले नष्ट गर्दा कृषक चिन्तित भएका हुन। सधैं बैसाखमै लगाउने मकै यो बर्ष खडेरी गरेका कारण जेष्ठ महिनाको १२/१३ तिर छर्नुपर्यो। त्यहीबेला गाइ-गोरु- भैसिमा देखिने रोग ‘लम्की स्किन भाइरस’ का कारण बारि जोत्ने गोरुहरु बिरामी परे। त्यस कारण बारिजोत्नको लागि यसपालि हातेट्याक्टर भाडामा लिएर मकै छर्नु पर्ने बाध्यात्मक परिस्थिति आयो। त्यसरी छरेको मकैमा केही समय खडेरी गर्दा फौजी किराले काटेर मकैको बोट नष्ट गर्दियो। बाक्लो बोट भएका ठाउँबाट उखेलेर खाली ठाउँमा मकैका बोट सार्ने काम पनि गरियो। यसरी अब मकैबाली हुर्किए केही समय पछि मेहनतको फल भित्र्याउला भन्ने आस बोकेर बसेका कृषकहरू पुर्पुरोमा हात राखेर रुन बाध्य भएका छन।
“कति दु:ख गरि खेती गरियो, अब खाउला, अन्न घर भित्र्याउला भन्ने बेलामा हावाहुरीले सबै सखाप पार्यो। हरियो मकै पोलेर खानेपनी बाँकी राख्दिएन। यो देखेर त काखीमुनि हात च्यापेर सबै छोडेर कतै जाँउ जस्तो लाग्छ। भाचिएका मकैको बोट देख्दा मेरो मुटुनै चस्किन्छ।” कृषक निमामाँया घर्ती मगरले भनिन।

अर्का कृषक पुर्ण बहादुर घर्ती मगरले भने, ” एक बर्षनै पुग्ने मकै हुन्थ्यो, यसपाली बारिनै सखाप हुने गरि हावाहुरी आयो। दशा लाग्या रैछ। मकैको बारिनै रित्तियो। अब यो खाली बारि गहुँ छर्ने समय नहुदा सम्म बाझै हुने होला। हावाहुरीले मनै चस्किने गरि मेहनत लुट्दियो।”

कुनै बारीमा मकै जरैदेखी ढलेको छ भने कुनै बारिमा अलि माथिबाटै भाचिँएको छ। ढलेका मकैमा खासै असर नपुग्ने भएपनी भाँचिएका मकै भने काम नलाग्ने भएका छन। मकैबाली नष्ट भएसङ्गै कृषकका सपनाहरुपनी चकनाचुर भएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।