राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे तयारी गर्दै झिमरुक

जिल्लाको झिमरूक गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी गरेको छ । सोमबार पालिका स्तरीय खेलकुद विकास समितिको बैठकले पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पुस २६ देखि २८ गतेसम्म ३ दिन संचालन गर्ने निर्णय गरेको हो ।
झिमरुक गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत माध्यमिक बिद्यालयका (९-१२) संचालित बिद्यालयहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने पालिका स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तुलस बहादुर बस्नेतले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई सफल बनाउन सम्पुर्ण तयारीका काम थालिएको शिक्षा शाखा प्रमुख मोहन बहादुर बिसीले जानकारी दिनुभएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र, छात्रा भलिबल, कबड्डी, एथलेटिक्स दौड (ट्रयाक) तर्फ रिले खेल हुनेछ भने, उफ्रने र फ्याँक्ने तर्फ हाइजम्प, लमजन्प त्रिपलजम्प र ज्याभलिङ थ्रो खेल संचालन हुने पालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले खेलकुद गाउँ समाज र राष्ट्रको लागि महत्त्वपूर्ण भएकोले खेलकुदलाई थप व्यवस्थित बनाउनेतर्फ सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको छ। खेलकुदको बिकासको लागि आफू केन्द्रित, बिद्यालय केन्द्रित भएर होइन समग्र पालिकाकै खेलकुदलाई उठाउने गरि लाग्नुपर्ने बताउनुभयो। खेल मार्फत समृद्धि ल्याउन सकिने भन्दै असल खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो। खेलाडीलाई अनुशासन भएर खेलमा सहभागी भइ अगाडि बढाउने काममा प्रेरित गर्न सबैलाई अनुरोध गर्नुभयो। खेलकुदमा विद्यालयको लागि दिइने व्यवस्थापन खर्च बापत रकममा गत वर्ष कम भएको गुनासो आएको र ब्यवस्थापनमा समस्या भएकोले यसपटक केही रकम थप गरि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो।

सोमबार पालिका स्तरीय खेलकुद विकास समितिको बैठकले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति तय गरि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समिति लाई सिफारिस गरेको छ । निर्देशन समितिको बैंककले अनुमोदन गर्ने ब्यवस्था खेलकुद निर्देशिकाले गरेको छ। निर्देशन समितिको संयोजक स्थानीय तहको प्रमुख हुने ब्यवस्था रहेको छ ।
खेलकुद विकास समितिका अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा बैठक बसेको बैठकमा गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही, जिल्ला खेलकुद बिकास समितिका प्रतिनिधि, वडा अध्यक्षहरू, शिक्षा शाखा प्रमुख र कार्यपालिका सदस्य शिक्षक कर्मचारी लगाएतको उपस्थिति रहेको थियोे। उपस्थित सबैले खेलकुदको बिकासको लागि सकारात्मक सुझाव दिएका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।