स्वर्गद्वारी ,रेसुङ्गा र सुपा देउरालि यातायातले जाेड्दै

प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई लक्षित गरेर सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको छ । झिमरुक गाउँपालिका प्यूठानको आयोजनामा तीनवटै जिल्लाका यातायात व्यवसायीहरुबीच भएको बैठकले आगामी फागुन १ गतेदेखि यातायात सेवा संचालन गर्ने निर्णय गरेको हो ।
स्वर्गद्धारी–मच्छि–सौतामारेहुँदै गुल्मीको रेसुंगा, स्वर्गद्धारी, सुपादेउराली र झिमरुकको मच्छि–कौछेटारी–बौडाहुँदै अर्घाखाँची सुपादेउरालीसम्म यातायात संचालन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए ।  स्वर्गद्धारी, सुपादेउराली र रेसुंगा पश्चिम नेपालका प्रशिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल हुन् । ‘यी तीन जिल्लाका पर्यटकीय स्थलहरुलाई एक आपसमा जोड्नका लागि सार्वजनिक यातायात सेवा संचालनको पहल गरेका हौँ’,गाउँपालिका उपाध्यक्ष पोखरेलले भने,‘छिमेकी जिल्ला भएरपनि ओहोरदोहोर कमी थियो । नियमित सवारी चलेपछि सहज हुने छ ।’
प्यूठानको जुम्रीबजारदेखि मच्छि हुँदै गुल्मीको मदाने गाउँपालिकाको पुर्कोटदह र अर्घाखाँचीको सन्धिखर्कका लागि खलंगा जोगीटारी हुँदै जीप नियमित संचालन भइरहेपनि पर्यटकीयस्थल लक्षित यातायात संचालन थिएनन् । तीनवटै जिल्लाका नागरिकहरुले यी पर्यटकीयस्थललाई एक आपसमा जोड्ने गरी गाडी संचालन गर्न वर्षौअघि देखि माग राख्दै आएका थिए ।
छलफलममा गौमुखी स्वर्गद्धारी यातायात प्रा.लि प्यूठान, देउराली यातायात अर्घाखाँची र गुल्मी यातायातका पदाधिकारीहरु सहभागी थिए । हाल निर्माणधिन अवस्थामा रहेको मदन भण्डारी राजमार्ग सम्पन्न भइसकेपछि यातायात संचालन गर्न अझ सहज हुने व्यवसायीहरुको आशा छ । यातायात संचालन गर्नका लागि पहिलोपटक झिमरुक गाउँपालिकाको अगुवाईमा तीनवटै जिल्लाका व्यवसायीहरुलाई छलफल गराएको हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।