विश्वमै चुनौती बढाउँदै मंकिपक्स
संघर्ष मिडिया डेस्क
विश्वव्याधी कोरोना भाइरसको त्रास कायमै छ। अर्को, तीव्र फैलावट हुने एमपक्स (मंकिपक्स) देखा परेको छ। यसका भाइरसले विश्वव्यापी रूपमै सतर्कता बढाएको छ। मंकिपक्सको संक्रमण गराउने दुइटा भाइरस हालसम्मकै सबैभन्दा ‘खतरनाक’ रहेको विज्ञहरूले औंल्याएका छन्।
भाइरसले संक्रमणको दायरा फराकिलो पार्दै लगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकिपक्सप्रति सचेत हुन आग्रह गर्दै स्वास्थ्य संकटकालको घोषणा गरेको छ। यस संक्रमणप्रति विशेष गरी अफ्रिकासँगै पश्चिमा मुलुकहरूसमेत सचेत देखिएका छन्। डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले एमपक्सको प्रकोपविरुद्ध अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको जनाएका छन्।
संक्रमणको विस्तार अफ्रिका र युरोपेली हुँदै छिमेकी मुलुक पाकिस्तानसम्म आइपुगेको छ। दक्षिण एसियाली मुलुक पाकिस्तानमा तीन जनामा मंकिपक्स संक्रमण पुष्टि भइसकेको छ। पर्यटकहरूको निर्वाध आवागमन भएमा संक्रमणको विस्तार नेपालसम्म पनि सहज बनाउने जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। वरिष्ठ जनस्वास्थ्य विज्ञ एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार चीनको वुहानबाट संक्रमणको सुरुवात भएको कोभिड–१९ को संक्रमणबाट बेलैमा पाठ सिक्न नसकेको भएता पनि मंकि पक्सको संक्रमण हुनुअघि नै प्रतिकार्यका लागि पूर्वतयारी हुनुपर्ने खाँचो छ।
आपतकाल निम्त्याउने ‘क्लेड १ बी ’
संक्रमण द्रुत गतिमा बढिरहेका कारण नै डब्लूएचओले २०२४ अगस्ट १४ (२०८१ साउन ३०) मा विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो। अफ्रिकी मुलुक कंगोमा मंकिपक्सको अति घातक संस्करण क्लेड बी १ ले पिरोलेको छ। पछिल्लो ६ महिनामा क्लेड १ बीको संक्रमणले कंगोमा ५ सय ४८ जनाको ज्यान गइसकेको छ। एमपक्स गराउने भाइरस क्लेड १ बी र क्लेड २ गरी दुई प्रकारको पाइएको छ।
सरुवा रोग विशेषज्ञ एवं शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, कोरोना भाइरसभन्दा सरल ढंगले मंकिपक्स सर्छ। अहिले फैलिरहेको क्लेड १ बी भाइरस क्लेड २ भन्दा तुलनात्मक रूपमा बढी घातक मानिएको छ। क्लेड १ बीमध्ये अफ्रिकामा संक्रमण फैलाइरहेको छ। जसले मृत्युदर बढाइरहेको छ। क्लेड २ ले पश्चिम अफ्रिका र युरोपमा समेत संक्रमणको दायरा विस्तार गरेको छ। ‘एक आपसमा छुँदा, स्पर्श गर्दा, म्वाइ खाँदा मात्र होइन एउटै ओच्छ्यान प्रयोग गर्दा पनि मंकिपक्सको संक्रमण हुन सक्छ,’ डा. पुन भन्छन्, ‘खुला सीमाना, भौगोलिक अवस्था लगायतले हामी जोखिम छौं। सचेत हुनुपर्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा (घाउ, खटिरा, बिमिराको सम्पर्क) र शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्याल)को सम्पर्कबाट सर्छ। विशेषगरी संक्रमित बाँदर, मुसा, लोखर्के लगायतबाट जनावर र भाइरस रहेको ओच्छ्यान र लुगाबाट सर्छ।
के हुन मंकिपक्सका लक्षण ?
संक्रमण भएपछि सुरुमा ज्वरो आउँछ। ज्वरो सुरु भएको एक देखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबरहरू देखा पर्छन्।
डाबरहरू परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने, ग्रन्थिहरू बढ्ने हुन्छ। संक्रमणको जटिलता उल्लेख गर्दै डा. बुढाथोकी भन्छन्, ‘ आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्कज्वरो हुने, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।’
हामी कति जोखिममा ? कल गरौं १११५
नेपालमा एक वर्षअघि विदेशबाट आएकी एक महिलामा मंकिपक्स पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ६० वर्षीया ती महिला पर्यटक उपचारपछि निको भएकी थिइन्। त्यतिबेला सो संक्रमण फैलन नपाएको प्रवक्ता डा. बुढाथोकीले बताए।
अफ्रिकी मुलुकमा भ्रमण गरेर आएका पर्यटक एवं नेपाली सेनाबाट संक्रमण फैलने जोखिम उच्च छ। बुरुन्डी, केन्या, रुवान्डा, युगान्डालगायतका मुलुकमा यस भाइरसले आतंक मच्चाएको छ। नेपालले अफ्रिकालगायतका प्रशान्त क्षेत्रमा राष्ट्रसंघीय शान्ति अभियानअन्तर्गत सेना पठाउने गरेको छ। त्यसैले मंकिपक्सको संक्रमण प्रभावित मुलुकबाट फर्किएका नेपाली तथा त्यहाँबाट आउने विदेशी पर्यटकले भाइरसलाई सजिलै नेपाल ल्याउन सक्ने जोखिम भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीका अनुसार, नेपालमा यो रोगको संक्रमण पुष्टि भएकाले जोखिम नरहेको भन्न सकिँदैन। ‘रोगको पूर्वतयारी स्वरूप विज्ञहरूसँग सुझाव लिइरहेका छौं,’ डा. बुढाथोकीले भने। मन्त्रालयको मंकिपक्सबारे जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा ल्याइएको छ। त्यस्तै हवाई तथा स्थलगत नाकाहरूमा रहेका हेल्थ डेस्कहरू तथा रोगको निगरानी (सर्विलेन्स)गर्ने तीनै तहका निकायलाई सचेत हुन भनिसकिएको प्रवक्ता डा. बुढाथोकीले बताए। ‘यस रोगको निदान र व्यवस्थापनका लागि सबै प्रदेशमा अस्पताल र चिकित्सक तोकिसकिएको छ,’ डा. बुढाथोकीले भने, ‘स्वास्थ्य मन्त्रालयले पूर्वतयारी र प्रतिकार्य भइरहे पनि आमनागरिकहरूबाट जनस्वास्थ्य मापदण्डहरू पालना भएमा मात्र मंकि पक्सको रोकथाम र नियन्त्रण सम्भव हुन्छ।’
नेपालमा विफर उन्मूलन भएको ४० वर्ष पछि विफरको झैं लक्षण भएको अर्थोपक्स भाइरस संक्रमण रोक्ने चुनौती देखिएको छ। मध्य र पश्चिम अफ्रिकी मुलुकहरूमा एम पक्सको संक्रमण जारी छ। अफ्रिकी क्षेत्र बाहिरका मुलुकहरूमा पनि शंकास्पद बिरामी पुष्टि हुने क्रम बढेकोले चुनौती झन् चुलिएको छ। सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, सन् २०२२ पछि युरोपमा मंकिपक्स फैलँदा सबभन्दा बढी संक्रमितहरू समलिंगी रहेका थिए। ‘स्वास्थ्यसँगै सामाजिक जनचेतना फैलाउनुपर्ने जरुरी छ,’ डा. पुन भन्छन्, ‘सामाजिक लाञ्छना लाग्न सक्ने डरले पनि कतिपय संक्रमित उपचारको दायरामा आउन हिचकिचाउने गरेको अध्ययन रिपोर्ट प्रकाशित भएको छ।’
संक्रमणको तीन साता बढी जोखिम
मंकिपक्स निम्त्याउने भाइरस संक्रमणको असर करिब तीन सातासम्म रहने विज्ञहरू बताउँछन्। त्यसैले सीमानाकामा कोभिड १९ मा व्यवस्था गरे झैं होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विशेषज्ञहरूको सुझाव छ।
कोभिड–१९ को संक्रमणका बेला सरकारले आठवटै नाकामा हजार क्षमताका होल्डिङ सेन्टर बनाएकोथियो। शंकास्पदलाई निश्चित दिनसम्म होल्डिङ सेन्टरमा राख्ने र सुरक्षित रूपमा मात्रै गन्तव्य स्थान सम्म पुर्याउँदा मंकिपक्सको रोकथाम र नियन्त्रणमा सहयोग पुग्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल मुलुक प्रवेश गरेपछि अडिने स्थान (क्वारेन्टाइन, होल्डिङ सेन्टर) नभएकै कारण जोखिमपूर्ण तवरबाटै यात्रा गर्दा जोखिम झन् उच्च हुने बताउँछन्।
‘सरकारले रोकथाम र नियन्त्रणको व्यवस्था समयमै गर्दा सर्वसाधारणहरू अत्तालिने अवस्था हुँदैन,’ डा. प्याकुरेल थप्छन्, ‘नाकाहरूमा हेल्थ डेस्क राखेर ट्रेसिङ, ट्रयाकिङ गर्दै होल्डिङ सेन्टरमा राख्ने र स्वास्थ्य संस्थामा उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने जरुरी छ ।’
कोभिड–१९ को संक्रमण उच्च भएका बेला सरकारी अस्पताल एवं प्रयोगशालाका साथै विशेषतः काठमाडौंस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि बढी भीड देखिएको थियो। काठमाडौं उपत्यकाको जनसंख्या र जनघनत्वको अनुपातमा परीक्षण केन्द्र र अस्पताल शय्या उपलब्ध नहुँदा संक्रमण नियन्त्रणमा ल्याउन चुनौती हुने डा. मरासिनी बताउँछन्। डा. मरासिनी भन्छन,‘ मंक पक्सको संक्रमणले रफ्तार लिएको खण्डमा स्वास्थ्य प्रणाली अस्तव्यस्त हुन सक्छ।
त्यसैले योजनाबद्ध र व्यवस्थित तवरबाट काठमाडौं र जनघनत्व बढी भएका सहरहरूमा परीक्षण केन्द्र र जनशक्ति तुरुन्त परिचालन गरी परीक्षण र उपचारको सुविधा दिन सकिने गरि पूर्वतयारी गर्नुपर्छ। संक्रमित बिरामीलाई कहाँ र कसरी राख्ने ? आइसोलेसन कहाँ बनाउने ? कोभिडको बेला त्यत्रो खर्च गरेर बनाइएका होल्डिङ सेन्टर क्वारेन्टाइन, आइसोलेसनको अवस्था कस्तो छ ? त्यसको अनुगमन गर्नु जरुरी छ।’
मंकिपक्स जनावरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा पनि सर्न सक्छ। भाइरस संक्रमित व्यक्ति वा पशुसँगको निकटता, शरीरबाट निस्किएको थुक, र्याल , लुगा, ओच्छ्यानबाट पनि सर्ने भएकाले संक्रमणको सबैभन्दा जोखिम बालबालिकालाई रहेको चिकित्सकहरू बताउँछन्।
कानुनको अपर्याप्तता
सर्वोच्च अदालतले महामारी वा विपद्को कारण कानुनहरूमा पैदा हुने जटिलतालाई सम्बोधन गर्न प्रचलित कानुनहरूको पर्याप्तता र प्रभावकारिता अध्ययन गरी अध्यययन प्रतिवेदनबमोजिम उपयुक्त कानुन बनाउन सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। तर, त्यसको कार्यान्वयन भएको छैन।
न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले २०७७ साल साउन २१ गते आदेश दिएको थियो। उक्त आदेशमा भनिएको छ, ‘महामारीको चुनौतीलाई सामना गर्न सक्ने अवस्थामा संक्रामक रोग ऐन, २०२० लगायतको प्रचलित कानुनहरूको पर्याप्तता र प्रभावकारिता छ, छैन अध्ययन गरी अध्ययन प्रतिवेदनबमोजिम उपर्युक्त र आवश्यक लैंगिक मैत्रीय र हाई रिस्क ग्रुपलाई उच्च प्राथमिकताममा राखी कानुन बनाउन नेपाल सरकारको नाममा आदेश जारी गर्छ।’
चीन, अमेरिका, सिंगापुर, बेलायत, आयरल्याण्ड, न्युजिल्यान्ड, फिलिपिन्स लगायतका मुलुकले विपद् व्यवस्थापन गर्न महमारिजन्य कानुन (प्यान्डेमिक एक्ट ) ल्याइसकेका छन्। संक्रामक रोग ऐन,२०२०ले संक्रामक रोगका बहुआयामिक विषयलाई सम्बोधन गर्न नसकेको अवस्थामा सरकार सचेत नभएको गुनासो विज्ञहरूको छ। स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. प्याकुरेल मुलुकभरका स्वास्थ्यकर्मीहरू केन्द्रको कमाण्डमा रहनुपर्ने बताउँछन्। ‘ एकीकृत स्वास्थ्य सेवा ऐन बनाउन सकेको भए सम्पूर्ण स्वास्थ्यकर्मी र निजी क्षेत्रलाई पनि परिचालन गर्न सकिन्थ्यो,’ डा. प्याकुरेल भन्छन, ‘सबै स्वास्थ्यकर्मीहरू संघको कमाण्डमा रहेर खटिने गरि सरकारले व्यवस्था गर्नुपर्छ। आवश्यक औषधिको व्यवस्था अहिले नै तयारी अवस्थामा राख्नुपर्छ।’
बरिष्ठ जनस्वास्थ्य विशेषज्ञ डा. मरासिनी नीति र कानुनी रूपमा पनि चुक्न नहुने बताउँछन्। नयाँ सरुवा रोग ऐन बनाउन नसक्दा कानुनी समस्या हुन सक्ने उनी औंल्याउँछन्। ‘नयाँ सरुवा रोग ऐन बनाएर पास गरेको भए त्यहीँअनुसार पूर्वाधार र उपचार प्रक्रिया अघि बढाउन सजिलो हुन्थ्यो।
एकै पटक धेरैजना बिरामी भए भने कहाँ लगेर उपचार गर्ने हो ? उपचार गर्ने ठाउँको पनि अभाव छ। रोग नियन्त्रणका लागि चाहिने कानुनी पक्ष, तयारी अझै पुगेन,’ डा. मरासिनी थप्छन्, ‘ मंकिपक्स सरुवा रोग भएकाले उपचारका लागि छुट्टै अस्पताल हुनुपर्छ। हैजा, मुटु , निमोनिया जस्ता अन्य रोग भएका बिरामीलाई राखिएको ठाउँमा मंकिपक्सका बिरामीलाई राख्न मिल्दैन। छुट्टै अस्पतालमा राख्नुपर्छ। अब कहाँ लगेर राख्ने मंकिपक्सका संक्रमित ? अब त सरकारले सोंच्नु पर्ने होला नि ! ’
संक्रमितको लक्षणको आधारमा उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। ज्वरो आएमा, छाला, अनुहार, हत्केला र पैतलामा बिमिरा आएमा मंकिपक्स हुन सक्ने भएकाले तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्ने विज्ञहरूको सुझाव छ। ‘संक्रमितलाई असुरक्षित ढंगले छुँदा नै सर्ने भएकोले उपचारमा खटिने स्वास्थ्यकर्मीले विशेष ध्यान पुर्याउनुपर्छ,’ जनस्वास्थ्य विज्ञ डा. प्याकुरेल भन्छन्, ‘उपचारका क्रममा संक्रमितका लागि छुट्टै शौचालय सहितको उपचार कक्षको व्यवस्था गर्नुपर्छ। र्यापिड रेस्पोन्स टिम स्थानीय तहदेखि संघीय तहसम्म सक्रिय बनाउनुपर्छ।’
कोरोना संक्रमणको बेला स्थानीय, प्रदेश र संघबीचमा सहकार्य, समन्वयमा कमी देखिएको डा. प्याकुरेल बताउँछन्। ‘संघीय स्वास्थ्य मन्त्रालयले यथाशीघ्र रिजर्ब पुलमा जनस्वास्थ्य विज्ञ, चिकित्सक, नर्स, प्यारामेडिकल, ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्छ,’ डा. प्याकुरेल भन्छन्, ‘विगतको त्रुटि दोहोरिनु भएन। वडा वडामा रहेका महिला स्वयंसेविकालाई ओरियन्टेशन दिनुपर्छ। स्थानीय, प्रदेश र संघ गरी तीनै तहबीच सहअस्तित्व, सहकार्य र समन्वय गरेर रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा मंकिपक्सको प्रकोप देखिएमा नियन्त्रण गर्न सजिलो हुनेछ।’
मंकिपक्सको रोकथाम र नियन्त्रणका लागि विज्ञका १२ सुझाव
१. हवाई र स्थलगत नाकाहरूमा कडाइ। हेल्थ डेस्कको स्थापना
२. शंकास्पदलाई क्वारेन्टाइन, होल्डिङ सेन्टर र आइसोलेसनमा राख्नुपर्ने।
३. संक्रमण उच्च भएका मुलुकमा परीक्षणपछि मात्र भिसाको व्यवस्था गर्नुपर्ने।
४. स्वास्थ्य स्वयंसेविकालाई तालिम र कल सेन्टर, मोबाइल एप, सञ्चारमाध्यममार्फत पनि जनचेतना अभिवृद्धि गर्नुपर्ने।
५. संक्रमितको उपचारका लागि छुट्टै विशेष अस्पतालको प्रबन्ध गर्नुपर्ने।
६. पर्याप्त संख्यामा दक्ष जनशक्ति र पीपीईको व्यवस्था गर्न जरुरी।
७. परीक्षण (टेस्टिङ) र प्रयोगशालाको पर्याप्तता बढाउनुपर्ने।
८. आवश्यक औषधि र खोपको व्यवस्थापन समयमै गर्नुपर्ने।
९. रोकथाम र नियन्त्रणका लागि साधनस्रोत र पूर्वाधार व्यवस्थाको बन्दोबस्त गर्नुपर्ने।
१०. एकीकृति स्वास्थ्य सेवा ऐन र सरुवा रोग ऐनको निर्माण र कार्यान्वयन गर्नुपर्ने।
११. स्थानीय, प्रदेश र संघबीच सहअस्तित्व, सहकार्य र समन्वय आवश्यक
१२. संघको कमाण्डमा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने।
मंकिपक्सको जोखिममा नेपाल नरहेको भन्न सकिँदैन। पूर्वतयारी र प्रतिकार्य भइरहे पनि आमनागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भएमा मात्र मंकिपक्सको रोकथाम र नियन्त्रण सम्भव हुन्छ।
डा. प्रकाश बुढाथोकी
प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कोभिड–१९ को संक्रमणबाट पाठ सिक्न सकेनौं। मंकिपक्सको संक्रमण हुनुअघि नै बेलैमा रोकथाम रणनीति बनाउनुपर्छ। प्रतिकार्यका लागि पूर्वतयारी हुनुपर्यो।
डा. बाबुराम मरासिनी
वरिष्ठ जनस्वास्थ्य विज्ञ
कोरोना भाइरसभन्दा सरल ढंगले मंकिपक्स सर्छ। अहिले फैलिरहेको क्लेड १ बी भाइरस क्लेड २ भन्दा तुलनात्मक रूपमा बढी घातक मानिएको छ। हामी जोखिम छौं। सबैजना सचेत हुनुपर्छ।
डा. शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
विगतको त्रुटि दोहोरिनु भएन। वडा–वडामा रहेका महिला स्वयंसेविकालाई ओरियन्टेसन दिनुपर्छ। स्थानीय, प्रदेश र संघ तीनै तहबीच सहअस्तित्व, सहकार्य र समन्वय गरेर रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्दा मंकिपक्सको रोकथाम र नियन्त्रण गर्न सजिलो हुन्छ।
डा. सुशीलनाथ प्याकुरेल
पूर्वप्रमुख विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय