मल्लरानी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, १९ प्रतिशत वित्तीय प्रगति
मंसिर ५
प्यूठान । मल्लरानी गाउँपालिका, प्यूठानले आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। मल्लरानी गाउँपालिकाको आयोजनामा तथा झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.लि.को सहजीकरणमा गाउँपालिका वडा नं. ५ कुमिकोटमा शुक्रबार कार्यक्रम आयोजना गरिएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकामार्फत सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत विजय पौडेलले कुल बजेटको १९ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी दिनुभयो। उहाँका अनुसार चालु खर्चतर्फ २४ प्रतिशत र पुँजीगत खर्चतर्फ ८ प्रतिशत वित्तीय प्रगति भएको छ।
कार्यक्रममा सडक निर्माण, स्वास्थ्य सेवा, लक्षित वर्गका कार्यक्रम, दैनिक सेवा प्रवाह, कृषि तथा पशु सेवा, खानेपानीलगायत विषयमा सहभागीहरूले प्रश्न तथा जिज्ञासा व्यक्त गरेका थिए। उठेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल तथा वडा अध्यक्ष र विषयगत शाखा प्रमुखहरूले दिनुभएको थियो।
सार्वजनिक सुनुवाइमा उठेका सवालहरूको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खड्काले कतिपय योजना कार्यान्वयनको चरणमा रहेको र हालसम्म सम्बोधन हुन नसकेका योजनाहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै अगाडि बढाइने बताउनुभयो। साथै, विकास निर्माणसम्बन्धी माग तथा सुझावलाई प्राथमिकताका साथ क्रमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण झिमरुक नेटवर्क एण्ड मिडियाका सञ्चालक तथा पत्रकार जुमान सिंह के.सी.ले गर्नुभएको थियो।